पारलिङ्गी पुरुषहरूलाई उपचारमा विभेद

images.jpg

फातिमा बानु (कान्तिपुर पत्रिका) : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भित्र रहेका विविध समूह अन्तर्गतका पारलिङ्गी पुरुष (अङ्ग्रेजीमा ट्रान्सजेण्डर मेन)हरूका निम्ति अस्पतालका सेवा मैत्रीपूर्ण नहुँदा यौनिक अल्पसंख्यक समुदायका बिरामीलाई उपचार कठिन भइरहेको छ । उपचार सेवा सहज नहुँदा उनीहरू रोग लुकाएर बस्न बाध्य छन् ।

हाम्रो सामाजिक मान्यतामा कोही बच्चा जन्मँदा उसको बाह्य यौनाङ्ग हेरी पुलिङ्गी वा स्त्रीलिङ्गी भनी इङ्गित गरिन्छ र कुनै पुलिङ्गी बच्चा पुरुष हुने वा कुनै स्त्रीलिङ्गी बच्चा महिला हुने भनी संकीर्ण मान्यता छ । तर सबैजना यस मान्यतामा अटाउँदैनन् । यस्तै एक उदाहरण हुन्- पोखराका ४६ वर्षीय एक पारलिङ्गी पुरुष । जन्मँदा स्त्रीलिङ्गी इङ्गित गरिएका व्यक्ति आफूलाई पुरुष भनी अनुभव गर्छ र पहिचान गर्दछन् । जन्मँदा स्त्रीलिङ्गी इङ्गित गरिएकै कारण छोरी भनी हुर्काएका उनी अहिले जीवनयापन पुरुषको छ । तर हाम्रो समाजमा पारलिङ्गी व्यक्तिहरूलाई स्वीकार नगरिएको हुँदा धेरैले यस विषयमा बुझ्दैनन् । उनको शारीरिक रूप स्त्रीलिङ्गी छ । पाठेघरको मुखमा मासु पलाएको छ । उनी भन्छन्, ‘उपचारका लागि काठमाडौंको धेरै अस्पताल गएँ । डाक्टरले अनावश्यक प्रश्न गर्न थालेपछि अस्पताल जानै छोडेँ ।’

उपचारमा संलग्न व्यक्तिले अनेक प्रश्नहरू सोधेको उनलाई मन पर्दैन । ‘केटी भएर केटीसँग कसरी शारीरिक सम्बन्ध राख्नुहुन्छ ? पार्टनर पाउन सजिलो छ कि छैन ?’ जस्ता उपचारसँग सम्बन्धित नभएको प्रश्न सोध्दा मनमा चोट लाग्ने उनले बताइन् । यस्ता प्रश्नको जवाफ दिनुपर्ला भनेर उनी अस्पताल जान छोडिसके । समाजको नजरमा जन्मँदा स्त्रीलिङ्गी इङ्गित गरिएका सबै व्यक्तिहरू महिला नै हुन् भनी सम्झन्दछ ।

अर्को उदाहरण हुन्- राजधानीका एक २८ वर्षीया पारलिङ्गी पुरुष । केही समयअघि उनी र्‍यालीमा हिँड्दाहिँड्दै लडेर बेहोस भए । हतारहतार उनलाई चाबहिलको ओम अस्पताल पुर्‍याइयो । हाम्रो समाजले पुरुष भनिएको पहिरनमा रहेको उनको अंग र आवाज स्त्रीलिङ्गी भएपछि चिकित्सक उनको उपचार गर्न हिच्किचाए । के गर्ने कसो गर्ने भन्ने अन्योलताले समयमा उपचार हुन सकेन । यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू एकजुट भएर यसबारे अस्पताल प्रशासनलाई सम्झाइदिएपछि मात्रै उनलेउपचार पाए ।

दाङका एक २५ वर्षीय पारलिङ्गी पुरुषको पनि यस्तै कथा छ । पारलिङ्गी पुरुषहरूको भावना र अन्तरात्माबाट पुरुष हुन्छन् र शारीरिक बनावट स्त्रीलिङ्गी हुन्छ । पुरुष जस्तो देखिनका लागि उनी स्तन लुकाउने अनेक उपाय लगाउँछन् । जहिले पनि ज्याकेट लगाउने, स्तन दबिने गरी कसेर ब्यान्डेज लगाउने । स्तन थिचिएर सासै फेर्न मुस्किल हुँदा पनि उनी यस्तो गर्न छोड्दैनन् । उनी भन्छन्, ‘स्तनलाई सधंैभरि दबाएर राख्दा क्यान्सरसम्म हुन सक्छ रे । म शल्यक्रिया गरेर स्तन हटाउन चाहन्छु ।’ नेपालमा स्तन हटाउने शल्यक्रिया महँगो हुँदा उनले उपचार गर्न पाएका छैनन् ।

राजधानीका २२ वर्षीय एक पारलिङ्गी पुरुष छन् ,उनी महिनावारी हुन्छन् । यो उनलाई मन पर्दैन । हरेक महिना महिनावारी रोक्ने औषधि खान्छन् । उनी भन्छन्, ‘यस्तो औषधि सँधै खाँदा पाठेघरमा अरू समस्या आउँदो रहेछ । यसबारे अस्पतालमा परामर्श लिन जाँदा राम्रो व्यवहार गर्दैनन्, यस्तो किन गर्नुपर्‍यो भनेर हप्काउँछन् ।’ राम्रो परामर्श नपाएकै कारण उनी आफ्नै हिसाबले औषधि सेवन गरिरहेका छन् ।

एक दशक अघि विश्व स्वास्थ्य संगठनले पारलिङ्गी हुनु कुनै रोग नभएको घोषणा गरिसक्यो । तर पनि हाम्रो समाजमा यो विषयलाई बुझिएको छैन । जब सम्म हाम्रो समाजले पुलिङ्गी इङ्गित गरिएका सबै व्यक्तिहरू पुरुष नै हुन्छन् वा स्त्रीलिङ्गी इङ्गित गरिएका व्यक्तिहरू सबै महिला नै हुन्छन् भन्ने विचारधारालाई तोड्न सक्दैन, पारलिङ्गी व्यक्तिहरू समाजमा अपहेलित नै हुन्छन् । स्वास्थ्यकर्मीबाट उपचार विभेद हुने समस्या भने यथावत् रहेको प्रभावित बताउँछन् । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ ले प्रत्येक महिला तथा किशोरीलाई प्रजनन् स्वास्थ्यसम्बन्धी परामर्श र सेवा पाउने व्यवस्था गरेको छ । ऐनको परिच्छेद ८ अनुसार कसैको लिङ्ग, समुदाय या शारीरिक अवस्थाका आधारमा कुनै भेदभाव नगरी प्रजनन् स्वास्थ्य सेवा दिनुपर्ने उल्लेख भए पनि यो व्यवहारमा लागू छैन । महिला विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने महासन्धि (सीड) ले पनि यौनिक अल्पसंख्यक समुदायका पारलिङ्गी महिलामाथि स्वास्थ्य प्रदायकद्वारा हुने भेदभावको अन्त्य गर्नुपर्ने सुझाव दिएको छ । तर पारलिङ्गी पुरुषहरूका स्वास्थ्य बारेमा प्रावधान छैन ।

गोपनीयतामा सुनिश्चता हुन नसक्दा उनीहरू उपचार गर्न असजिलो मान्छन् । जन्मँदा स्त्रीलिङ्गी इङ्गित गरिएका सबै व्यक्तिहरूले स्तन र पाठेघरसम्बन्धी समस्या भोग्दै आइरहेका छन् । तर हाम्रो समाजमा जन्मँदा स्त्रीलिङ्गी इङ्गित गरिएका सबै व्यक्तिहरू महिला नै हुन्छन् भन्ने धारणाका कारण पारलिङ्गी पुरुषहरूका स्वास्थ्य समस्या ओझेलमा परेको छ । यस्ता रोगमा राज्यले निःशुल्क उपचार दिँदै आए पनि यसमा उनीहरूको पहुँच पुग्न सकेको छैन । यौन रोग र एच आईभीको संक्रमण खेप्नेमा पारलिङ्गी पुरुषहरू बारे खासै कुनै कार्यक्रम छैन । यौन रोगको उच्च जोखिममा पुरुष सँग यौन सम्पर्क गर्ने पुरुष वा समयौनिक पुरुष भएकाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको लागि भएका स्वास्थ्य कार्यक्रमहरूले पारलिङ्गी पुरुषहरूलाई पाखा परिएको छ । सम्मानपूर्वक उपचार सेवा नभएका कारण उनीहरू नियमित उपचारमा जाँदैनन् ।

प्राकृतिक रूपमा यसरी नै जन्मिने यस्तो समुदायका व्यक्तिलाई समाजमा अप्राकृतिक र विकृति मानिने मानसिकता हट्न नसकेको यौनिक अल्पसंख्यकका लागि काम गर्दै आइरहेकी सरिता केसी बताउँछिन् । उनी भन्छिन्, ‘इज्जत र प्रतिष्ठा गुम्ने डरका कारण घरपरिवारले त हिंसा गरेकै छन् । उपचारमा समेत विभेद हुँदा उनीहरूको मानवअधिकार हनन् भएको छ ।’ यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघको तथ्यांकअनुसार नेपालमा यस्ता व्यक्तिको जनसंख्या करिब ९ लाख छ ।

(कान्तिपुरमा प्रकाशित उक्त लेखको भाषिक संसोधन पश्चात पुनःप्रकाशित । हामीले समान्यतः बोलीचालीको भाषा पारलिङ्गी मैत्रीपूर्ण छैन । भनिन्छ, समाज र संस्कृति अनुसार सो समुदायमा बोल्ने भाषाको स्वरूप हुन्छ । हाम्रो समाजमा पारलिङ्गीहरूलाई स्वीकार गरिएको छैन, त्यसैले पारलिङ्गी मैत्रीपूर्ण र समावेशी भाषा सामान्य बोलीचालीमा प्रयोग गरिँदैन। हाम्रो भाषामा अझै पनि जैविक लिङ्ग (सेक्स) र लैङ्गिकता (जेण्डर)लाई छुट्टै मान्यतामा बोलिँदैन । त्यसैले पारलिङ्गी मैत्रीपूर्ण भाषाको विकास र प्रयोग आवश्यक रहेकाले हामीले यो संसोधन गर्यौँ।)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s